
नारायणगढ, असोज २८ । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका वडा ३ स्थित शान्तिचोकमा आइतबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु र तीन जनाले घाइते भएका छन्।
खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको ना ४६ प ८२४८ नम्बरको मोटरसाइकल र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना ५६ प ९१६९ नम्बरको स्कुटरबीच साँझ ६ बजेर १५ मिनेटको समयमा ठक्कर भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान चितवन खैरहनी नगरपालिका वडा नम्बर १ का दिपेश चौधरीको रूपमा भएको छ। उहाँको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारको क्रममा साँझ ७ः४० बजे मृत्यु भएको थियो। उहाँ स्वयं स्कुटर चलाउँदै थिए।
दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय अनिस बस्नेत र पछाडि बस्ने २२ वर्षीय सुजेक दराई घाइते भएका छन् र उनीहरूलाई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
स्कुटरमा सवार २४ वर्षीय अर्जुन चौधरीको नाक र मुखमा चोट लागेको छ र उहाँको अवस्था गम्भीर रहेको बताइएको छ। उहाँको पनि मनकामना अस्पतालमा उपचार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे