
काठमाडौं , ०१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याएर सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र बलियो बनाउँदै समृद्धिको बलियो जग बसाउनु वर्ष ०८१ को मूल जिम्मेवारी भएको बताएका छन् ।
विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि.सं. २०८१ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतीको लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु मूल जिम्मेवारी भएको बताएका हुन् ।
‘सत्ता समीकरणमा आबद्ध दलहरूको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु, अर्थतन्त्र सुधारमा गुणात्मकता प्रदान गर्नु, समृद्धिको बलियो जग बसाउनु, सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु वि.सं. २०८१ का मूल जिम्मेवारी हुन्’ दाहालले भनेका छन् ।
उक्त प्राथमिकता र प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विस्वास दाहालको छ । नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्ने विश्वास पनि दाहालको छ ।
दाहालले विगत वर्षका अनुभवबाट शिक्षा लिएर नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिईसुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैमा आह्वान पनि गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे