
काठमाडौँ, कात्तिक ३| बडादशैंको छैटौं दिन आज आश्विन शुक्ल षष्ठी तिथिमा शक्ति स्वरुपा भवानी माता कात्यायनीको पूजाआजा गरिन्छ । माता कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृतिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन् । तत्पश्चात उनले कात्यायन ऋषिकी पुत्री हुन स्वीकार गरेकी थिइन् ।
राजर्षि जनककी पुत्री जानकी भएझैं कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन् । माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ । उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ । अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ । देवी कात्यायनी माता पार्वतीको सौर्य अवतार मानिन्छ ।
घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।
राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भऽकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि भक्तालुहरूको घुईंचो लागेको छ । दशैँको दिनदेखि विभिन्न मन्दिर, शक्तिपीठमा निरन्तर पुजा गर्ने, बाजागाजा सहित लरमाइलो गर्ने गरिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे