
काठमाडौँ, १५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले आममाफीको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । उनीहरुले सोमबार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति पौडेलको ध्यानकर्षण गराएका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको बताएका छन् ।
पौडेलले संविधानले राष्ट्रपतिलाई विवेक प्रयोग गर्न दिएको ठाउँमा आफूले प्रश्न उठाएर ३४ जनाको आममाफीका लागि गृहमन्त्रालयबाट आएको पत्र फिर्ता गराएको स्मरण गराए । योगराज रिगल ढकाललाई आममाफी दिएको विषयमा ध्यानाकर्षण गराउन रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेता राष्ट्रपति कार्यालय पुगेका थिए ।
दिनदहाडै हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन राष्ट्रपति कार्यालय पुगेको रास्वपाले जनाएको छ ।
भेटमा राष्ट्रपति पौडेलले सरकारले सिफारिश गरेका २४ जनाको नाम फिर्ता पठाएको स्मरण गराएका थिए ।
संविधान दिवसको अवसर पारेर व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाईसमेत उन्मुक्ति दिने परिपाटी अन्त्यका लागि रास्वपाले अभियान थालेको छ ।
चेतन मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराजलाई संविधान दिवसको अवसर पारेर माफी दिइएको थियो । त्यसको विरोधमा रास्वपाले सदमा समेत आवाज उठाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे