
काठमाडौँ, २० भाद्र ।राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् ।
राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
कृष्ण जन्माष्टमीमा ललितपुरको पाटन कृष्ण मन्दिरमा रहेको भक्तजनको घुँइचोका कारण सवारी साधनलाई सौगाल र महापालबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ग्वार्कोबाट पाटनतर्फ आउने सवारी साधनलाई सौगालबाट र पुल्चोकबाट पाटन हुँदै ग्वार्कोतर्फ जाने सवारी साधनलाई महापालबाट डाइभर्सन गरिएको हो ।
ग्वार्कोबाट आउने सवारी साधनलाई इखालखु र पाटन सुन्धारामा पार्किङको व्यवस्था मिलाइएको छ । त्यस्तै पुल्चोकतर्फ जाने सवारी साधनलाई बंगलामुखी र लगनखेल आसपासका क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ
काठमाडौंको बुढानिलकण्ठ स्थित बुढानिलकण्ठ मन्दिर र इस्कोन कृष्ण मन्दिरमा पनि भक्तजनको घुँइचोलाई मध्येनजर गरेर सार्वजनिक सवारी साधनलाई देउवाचोक र टुसालबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । महाराजगञ्जचोकबाट बुढानिलकण्ठ जाने सवारी साधनलाई देउवा चोकबाट र टोखा भसन्थली हुँदै बुढानिलकण्ठ आउने सवारी साधनलाई टुसालबाट डाइभर्सन गरिएको छ । उक्त क्षेत्रमा सवारी साधन सहित जाने भक्तजनको सुविधालाई मध्यनजर गरेर ४ पाङग्रेका लागि बुढानिलकण्ठ बोर्डिङ स्कुलमा र २ पाङग्रे सवारी साधनको लागि बुढानिलकण्ठ सरकारी स्कुल तथा हिमालयन बोर्डिङ स्कुलमा पार्किङको व्यवस्था मिलाइएको छ ।
यस्तै काठमाडौंको हाँडीगाउँमा रहेको कृष्ण मन्दिरतर्फ जाने सवारी साधनलाई पनि डाइभर्सन गरिएको छ । डबली चोक हुँदै मन्दिरतर्फ जाने सवारी साधनलाई गहनापोखरीबाट, काठमाडौं महानगरपालिकाको ५ नम्बर वडा कार्यालय हुँदै जाने सवारी साधनलाई विशालनगरको ओरालो र हाँडिगाउँ(तीनकुने हुँदै जाने सवारी साधनलाई विशालनगर चोकबाटै डाइभर्सन गरिएको छ । अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे