
काठमाडौं, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै गत साउन १० गतेदेखि एमालेले अवरुद्ध गरेको संसद खुलाउन छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएपछि एमालेले सो बैठक बहिष्कार गरेको हो ।
राष्ट्रपतिले बोलाएको बैठक बहिष्कार गरेपछि उनले आफुले कुनै सक्रियता देखाउन नखोजेको स्पष्ट पारेका छन् ।
‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ’, एमालेले बैठक बहिस्कार गरेको विषयलाई सङ्केत गर्दै राष्ट्रपतिले भने, ‘त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।
विभिन्न कारणले तपाईहरू सबैसँग भेट पनि हुन सकेको थिएन । तपाईहरूसँग भेटेर राष्ट्रको चिन्ता गरौँ भन्ने पनि थियो । संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको छ । संविधानमा रहेको यो जिम्मेवारी कसरी पुरा गर्न सकिन्छ भन्नेमा म सधैँ चिन्तित रहेको छु ।’
सो क्रममा राष्ट्रपतिले संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको बताए । ‘यसले गर्दा शक्तिपृथकिकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ’, राष्ट्रपतिले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे