
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय डोजर लगाएर भत्काउने तयारी गरिएकाे छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले घर खाली नगरिए डोजर लगाउनुको विकल्प नभएको बताए ।
गत शुक्रबार नगर प्रहरीले राप्रपाको कार्यालयमा गएर घर खाली गर्न माइकिङ गरेको थियो । उनीहरुले सोमबारअघि घर खाली नगराए डोजर चल्ने चेतावनी दिएर गएका थिए । अहिलेसम्म घर खाली भएकाे छैन ।
राप्रपा मुख्यसचिव केदारबहादुर अधिकारीले नगर प्रहरीले माइकिङ गरेर गए पनि महानगरबाट कुनै लिखित सूचना वा पत्र नआएको बताए ।
‘के कारणले भवन खाली गर्नुपर्ने हो भन्ने हामीलाई कुनै आधिकारिक जानकारी दिनुभएको छैन । हामीले लिखित पत्र मागेका छौं । तर, महानगरबाट कुनै रेस्पोन्स भएको छैन’, उनले भने ।
नगर प्रहरी प्रमुख पाण्डेले हाइटेन्सनमुनि निर्माण भएकाले घर भत्काउनुपर्ने बताए ।
उनले भने, ‘हाइटेन्सनमुनि घर बनाउन पाइँदैन । डोजर चल्छ ।’
धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो । यो घरको नक्सापास नभएको बुझिएको छ । दाताहरुले राप्रपालाई यो घर–जग्गा प्रयोग गर्न दिएका थिए । मुख्य सचिव अधिकारीका अनुसार नक्सापासका लागि निवेदन दिएको वर्षौं हुँदा पनि गरिएको छैन ।
यो घर अहिले कल्याण राजभण्डारी र प्रज्ञा चापागाईंको नाममा छ । घरमा डोजर चल्नबाट रोक्न अदालत गएर अन्तरिम आदेश ल्याउने विकल्प छ । तर, राप्रपाको नाममा घर नभएकाले घरधनीहरुले नै यसका लागि निवेदन दिनुपर्ने हुन्छ । तर, घरधनीहरुले चासो नदिँदा कतै उनीहरु आफैं घर खाली गराउन चाहिरहेका छन् कि भन्ने आंशमा पैदा भएको एक नेताले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे