
काठमाडौँ, ५ असार । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति प्रयोग नगर्न चेतावनी दिएका छन् ।
भट्टराईले सामाजिक सञ्जाल मार्फत समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् भन्दै चेतावनी दिएका हुन् ।
‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसंग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् !, ‘उनले भनेका छन्, ‘केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस्!’
भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको पनि बताएका छन् ।
‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन, ‘उनले भनेका छन् , ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’
हिजो सोमबार राजधानिमा एक कार्यक्रमका बिच नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाबिच समाजवादी मोर्चा गठन भएको थियो । मोर्चाले १५ बुँदे प्रतिबद्धतासहित संघियता लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापनाको प्रमुख उद्देश्य राखेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे