
काठमाडौँ, २६ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्धको बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।
प्रचण्ड बाबुरामलाई युद्धमा बाल सैनिक प्रयोग गरेको विरुद्ध अन्तर्राष्ट्रिय मानविय कानुन अनुसार सजायका लागि मुद्दा प्रक्रिया अघि बढाउन परेको रिट दरपिठ बदर गरी मुद्दा दर्ता गर्न सर्वोच्चबाट आदेश भएको अधिवक्ता स्वागत नेपालले जानकारी दिए ।
उनले भने, “दरपीठ बदर भयो, रिट दर्ता गर्नु भन्ने आदेश भएको छ।”
पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारवाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपीठविरुद्ध सर्वोच्च पुगेको थिए ।
विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरु पुष्पकमल दाहाल (प्रचण्ड), डा. बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै कारवाहीको माग गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड, डा भट्टराईसमेतलाई विपक्षी बनाई दिएको रिट निवेदनमा भनिएको थियो, ‘सशस्त्र द्वन्द्वमा बाल सेना भर्ती गर्नु गराउनु हुन्न भन्ने तथ्य ढाँटी हामी जस्तालाई बालसैन्यको रुपमा भर्ती गरी हाम्रो सुन्दर भविष्य बरबाद गर्ने र युद्ध अपराधको भागीदार भै अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गर्ने विपक्षीद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईमाथि प्रचलित अन्तर्राष्ट्रिय कानुन बमोजिम कानूनको दायरामा ल्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा आवश्यक पर्ने कार्य गर्नु र घरेलु रुपमा कानूनको दायरमा ल्याउन संयुक्त राष्ट्र संघको सुरक्षा परिषद संग समन्वय गरी संयुक्त राष्ट्र संघिय आयोग (उदाहरणका लागि रुवान्डा वा युगोस्लाभियामा स्थापित आयोग (Tribunal) स्थापित गरी कानूनी कार्यबाहीको प्रक्रिया अघि बढाउनु र सो को प्रगति विवरण सम्मानित सर्वोच्च अदालतलाइ नियमित रुपमा पेश गर्नु भनि परमादेशको आदेश जारि गरी पाउँ ।’ उक्त दरपीठ विरुद्ध पुनः सर्वोच्च पुगेका बिष्ट सहितका पूर्व बाललडाकुको मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे