
काठमाडौँ ,१८ मंसिर | प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ। पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ। समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ।
प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ। अघिल्लो चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ ३३.२४ प्रतिशत समानुपातिक मत पाएको एमालेले यसपटक शनिबार बेलुकीसम्मको मतगणना हेर्दा २६.७५ प्रतिशत मात्रै प्राप्त गरेको छ।
अघिल्लो चुनावको तुलनामा यसपटक करिब ६.४९ प्रतिशत कम मत उसले पाएको छ। त्यसैगरी प्रतिनिधिसभा प्रत्यक्षतर्फ सबैभन्दा धेरै सिट जितेको कांग्रेसले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिनिधिसभा समानुपातिकतर्फ मत गुमाएको छ। अघिल्लो चुनावमा ३२.७७ प्रतिशत मत प्राप्त गरेको कांग्रेसले यसपटक २५.४९ प्रतिशत मत पाएको छ। कांग्रेसले अघिल्लो चुनावको तुलनामा यसपटक समानुपातिकतर्फ ७.२८ प्रतिशत मत गुमाएको हो।
त्यस्तै माओवादी केन्द्रले पनि अघिल्लो चुनावको तुलनामा यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ थोरै मत प्राप्त गरेको छ। माओवादी केन्द्रले यसपटक प्रतिनिधिसभा समानुपातिकतर्फ ११.१७ प्रतिशत मत पाएको छ। उसले २०७४ सालको चुनावमा प्रतिनिधिसभा समानुपातिकतर्फ १३.६५ प्रतिशत मत पाएको थियो। अघिल्लो चुनावको तुलनामा यसपटक उसले प्रतिनिधिसभा समानुपातिकतर्फ २.४८ प्रतिशत कम मत पाएको छ।
मत यसपटक ठुला दलले गुमाएको मत अन्य केही दल (जो राष्ट्रिय पार्टीका रूपमा उदाएका छन्) मा गएको देखिन्छ। २०७४ सालमा प्रतिनिधिसभा समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसपटक ५.६३ प्रतिशत मत पाइसकेको छ। यसपटक नयाँ दलका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीले समानुपातिकतर्फ गणना भएको सदर मतमा ३ प्रतिशतको ‘थ्रेस होल्ड’ पार गरिसकेका छन्। रास्वपा र जनमत दुवै नयाँ दल हुन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे