चितवन, असोज ८ । विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपछि संरक्षणमा अबको बाटो के भन्ने प्रश्न उब्जिएको छ ।
पछिल्लो दशकमा नेपालले विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणको एकसूत्रीय एजेन्डाको बाटो समातेर उल्लेख्य उपलब्धि हासिल गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि क्रमशः वृद्धि हुँदै गएपछि मानिस कि वन्यजन्तु ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ ।
विज्ञका भनाइमा मानव र वन्यजन्तु दुवैको सहअस्तित्व अहिलेको प्रमुख एजेन्डा बन्नुपर्छ । वन्यजन्तु बोल्न सक्दैनन्, आफ्ना पीडा व्यक्त गर्न सक्दैनन् । उनीहरूको वंशलाई जोगाउने जिम्मा त विवेकशील तथा चेतनशील प्राणी मानिसको नै हुन्छ । त्यसैले वन्यजन्तुको वंश जोगाउन पनि मानव समाजलाई उत्तिकै महत्व दिनुपर्छ ।
गैँडा विज्ञ डा. शान्तराज ज्ञवालीले भन्नुभयो, ‘‘हिजोका दिनमा हामीले बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दियौँ । त्यसमा नेपालले ठूलो सफलता हात पारेको छ । अब तिनै वन्यजन्तुले दुःख दिएका समुदायको बारेमा सोच्नु जरुरी छ ।’’ वन्यजन्तु बढेपछि बासस्थान व्यवस्थापन गर्नु अति आवश्यक हुन्छ ।
उचित बासस्थान भएन भने वन्यजन्तु बासस्थान बस्तीतिर आउन सक्ने सम्भावना हुन्छ नै । त्यसका लागि संरक्षित क्षेत्र वरिपरिका बासिन्दालाई ती हानि पु¥याउने वन्यजन्तुको बानीव्यवहारबारे सचेतना जगाउन आवश्यक रहेको विश्व वन्यजन्तु कोषका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्टले बताउनुुभयो ।
उहाँले भन्नुुभयो, ‘‘हालसम्मका अघिकांश घटना समुदायका व्यक्ति वनजङ्गलभित्र गएका बेला भएका छन् । अब ती समुदायलाई वनजङ्गलभित्र जान नदिने गरी कसरी जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयलाई मूल प्रवाहीकरण गर्नुपर्छ ।’’आजको गोरखापत्र दैनिकबाट
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे