
काठमाडौँ । नेपाली सेना ले वर्षात् नजिकिँदै गर्दा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपद् प्रतिकार्य पूर्वतयारी तीव्र पारेको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विगतका विपद्का अनुभवलाई आधार बनाउँदै सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि योजना अघि बढाइएको छ ।
यसैबीच, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको भन्ने विषयमा फैलिएको खबरप्रति स्पष्टिकरण दिँदै सेनाले त्यस्तो उद्देश्य नभएको जनाएको छ । सेनाका अनुसार स्थानीय युनिटहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सम्भावित विपद् जोखिमको पहिचान गरी उद्धार, राहत वितरण र पुनर्स्थापनालाई प्रभावकारी बनाउन जोखिम नक्साङ्कनका लागि आवश्यक तथ्याङ्क अद्यावधिक गर्ने कार्य मात्रै गरिएको हो ।
सेनाले विपद्का बेला तत्काल सुरक्षा फौज परिचालन गरी प्रभावित क्षेत्रमा सहयोग पुर्याउने तयारीस्वरूप यस्तो कार्य गरिएको स्पष्ट पारेको छ । साथै, विपद् व्यवस्थापनका गतिविधिमा सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै समयमै पूर्वतयारी गर्नु आवश्यक रहेको जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे