
काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले विगतको राजनीतिक सिफारिसमा आधारित राजदूत नियुक्ति प्रणालीलाई परिवर्तन गर्दै खुला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने तयारी अघि बढाएको छ । यसअघि परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा सत्तारुढ दलहरूको सिफारिसका आधारमा राजदूत नियुक्त हुने प्रचलन रहेकोमा अब भने योग्यताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रिया अपनाउने नीति तय गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
सरकारले प्रारम्भिक चरणमा राजदूत पदका लागि खुला विज्ञापन आह्वान गर्नेछ र आवेदन दिएका उम्मेदवारहरूमध्ये उत्कृष्ट व्यक्तिहरूलाई प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत चयन गरिने तयारी रहेको बताइएको छ । यस प्रक्रियाले राजदूत नियुक्तिलाई थप पारदर्शी, समावेशी र पेशागत बनाउने विश्वास सरकारको छ ।
हाल भारत, चीन, अमेरिका, बेलायतलगायतका महत्वपूर्ण मुलुकसहित १७ राजदूत पद रिक्त रहेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरूलाई पछिल्ला राजनीतिक परिवर्तनपछि फिर्ता बोलाउने निर्णय गरिएको थियो । आगामी जुलाई महिनाको अन्त्यसम्म ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल पनि समाप्त हुने भएकाले थप पद रिक्त हुनेछन् ।
यसरी रिक्त हुने पदहरू समेट्दै सरकारले एकैपटक करिब २४ जना राजदूत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने योजना बनाएको छ । यस कदमलाई कूटनीतिक क्षेत्रमा पेशागत दक्षता र पारदर्शिता अभिवृद्धि गर्ने महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे