
काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार उल्लेखनीय रूपमा विस्तार भई करिब ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा यस वर्ष थप वृद्धि हुने प्रक्षेपण गरिएको हो। उपलब्ध ६ देखि ८ महिनाको वास्तविक तथ्याङ्क र बाँकी अवधिको अनुमानका आधारमा तयार गरिएको राष्ट्रिय लेखा अनुसार चालु वर्षमा आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.८५ प्रतिशत र आधारभूत मूल्यमा ३.६८ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको संशोधित ४.४३ प्रतिशत वृद्धिदरभन्दा केही कम हो।
क्षेत्रगत संरचनातर्फ सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ भने प्राथमिक क्षेत्रको २४.५ प्रतिशत र द्वितीय क्षेत्रको १३.७ प्रतिशत योगदान रहने देखिएको छ। विद्युत् तथा ग्यास क्षेत्रले सबैभन्दा उच्च २०.९३ प्रतिशत वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ, जसमा नयाँ आयोजनाबाट उत्पादन वृद्धि र प्रसारण संरचनाको विस्तार मुख्य कारण मानिएको छ। यता कृषि क्षेत्रको वृद्धिदर भने १.५८ प्रतिशतमा सीमित हुने देखिएको छ, विशेषगरी धान उत्पादनमा गिरावट र अन्य बालीमा सामान्य वृद्धि भएकाले समग्र योगदान कमजोर रहने आँकलन गरिएको छ।
प्रतिव्यक्ति आयतर्फ भने विनिमय दरको प्रभावका कारण केही उतारचढाव देखिएको छ। यस वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन घटेर १,५१३ अमेरिकी डलर कायम हुने अनुमान गरिएको छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय भने बढेर २,०४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ। यसमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको ठूलो योगदान रहने देखिएको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ३३.०२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
त्यस्तै, कुल राष्ट्रिय बचत जीडीपीको ४४.७७ प्रतिशत र कुल स्थिर पुँजी निर्माण २६.२६ प्रतिशत रहने आँकलन गरिएको छ। वैदेशिक व्यापारतर्फ निर्यात ९.९७ प्रतिशत र आयात ३४.५२ प्रतिशत रहने देखिएको छ। पूँजीगत खर्चमा अपेक्षित सुधार नहुँदा निर्माण क्षेत्रको वृद्धिदर २.२१ प्रतिशतमै सीमित रहने प्रक्षेपण गरिएको छ, जसले समग्र आर्थिक गतिविधिमा प्रभाव पार्ने संकेत दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे