२०८१ श्रावण १२, शनिबार
टोरन्टो। अन्टारियोका नागरिकता र बहुसांस्कृतिकता मन्त्री माइकल फोर्डले ‘नानो टेक्नोलोजी’को अनुसन्धान गर्न नेपाली अनुसन्धानकर्ता कनराड रिजालले स्थापना गरेको कम्पनी ‘सिड नानो टेक’को निरिक्षण गरेका छन्।
त्यस क्रममा अन्टारियोका लागि ब्राम्पटनकी एकजना साँसद शर्मिन विलियम्स पनि उपस्थित थिइन्। कम्पनीका संस्थापक तथा सञ्चालन कनराड रिजालले नानो टेक्नोलोजी, कम्पनीले गरिरहेको अनुसन्धान र त्यसको प्रगति तथा विद्यार्थीहरूलाई पुर्याइरेको सहयोगका बारेमा प्रस्तुति दिएका थिए।
अन्टारियो सरकारले गत बुधबार १२ सय आदिवासी, अश्वेत र अल्प संख्यक अन्य जातिका उद्यमीहरूलाई व्यवसाय सुरु गर्न र अघि बढाउने कार्यका लागि मद्दत गर्न कार्यक्रम अन्तर्गत तीन वर्षका लागि थप एक करोड ५० लाख डलर लगानी गर्ने घोषणा गरेको थियो।
२०२२ मा पाइलट कार्यक्रका रूपमा सुरु गरिएको रेज कार्यक्रम अन्तर्गत ५० लाख डलरको लगानीमा ४ सय भन्दा बढी आदिवासी, अश्वेत र अल्पसंख्यक जातिका उद्यमीहरूलाई सहयोग गरेको थियो।
यस कार्यक्रमले आफ्नो व्यवसाय सुरु गर्न र अघि बढाउनमा प्रणालीगत अवरोधहरूको सामना गरिरहेका उद्यमीहरूलाई अनलाइन व्यापार प्रशिक्षण र १० हजार डलरको अनुदान प्रदान गर्दछ।
“साना व्यवसायहरू अन्टारियोको मेरुदण्ड हुन्। आदिवासी, अश्वेत र अल्पसंख्यक अन्य जातका उद्यमीहरूले हाम्रो अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् तथापि, धेरैले आफ्नो व्यवसाय सुरु गर्न र अघि बढाउनमा प्रणालीगत अवरोधहरूको सामना गरिरहन्छन्, “नागरिकता र बहुसांस्कृतिकता मन्त्री माइकल फोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अझ बलियो, थप समावेशी अन्टारियो बनाउने हाम्रो प्रयास जारी रहेको सन्दर्भमा रेज कार्यक्रममा गरिएको लगानीले विभिन्न उद्यमीहरूसंग आफ्नो जोश र नवीन विचारहरूलाई सफल र प्रतिस्पर्धी व्यवसायहरूमा रूपान्तरण गर्न आवश्यक पर्ने उपकरण, स्रोत र पूँजी सुनिश्चित हुनेछ।”
सरकारले २०२३-०२४ का लागि ४५० उद्यमीहरूलाई व्यवसाय सुरु गर्न वा फैलाउन अनलाइन प्रशिक्षणद्वारा व्यापार, नगद प्रवाह व्यवस्थापन, व्यापार सञ्चालन, मार्केटिङ र सार्वजनिक सम्बन्ध रणनीतिहरू र डिजिटल रूपान्तरण बारे जानकारी गराउने छ।
स्वास्थ्य सेवा, ऊर्जा र वातावरणलगायत विभिन्न उद्योगहरूका लागि न्यानो टेक्नोलोजीको विकासमा लागेको सिड नानोटेक इन्टरनेशनल, ब्राम्प्टन पनि त्यस्तो सहयोग प्राप्त गर्ने एउटा कम्पनी हो।
कम्पनीका संस्थापक तथा सञ्चालक डा. कनराड रिजालले अन्टारियो सरकारको उद्यमीलाई सहयोग गर्ने प्रतिबद्धताको प्रशंसा गर्ने बताए।
रेज कार्यक्रम अन्तर्गत प्राप्त आर्थिक सहयोगले कम्पनीको विस्तार गर्न र अनुसन्धान क्षमता बढाउन महत्वपूर्ण सावित भएको उल्लेख गर्दै अनुदानले अत्याधुनिक उपकरण, सफ्टवेयरमा लगानी गर्नका साथै अन्तर्राष्ट्रिय अनुसन्धान र सञ्जाल बढाउन सक्षम बनाएको पनि उल्लेख गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे