
काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव। धान रोपाइँको सुरुआतसँगै दहीचिउरा खाने परम्परा मनाइने यस दिनलाई नेपाली कृषि संस्कृति, श्रमको सम्मान र स्थानीय उत्पादनको प्रवर्द्धनसँग जोडेर विशेष रूपमा मनाइन्छ।
परम्पराअनुसार असार १५ मा दहीचिउरा खाएर रोपाइँ गर्दा राम्रो उत्पादन हुने जनविश्वास रहिआएको छ। हिन्दु संस्कृतिमा दहीलाई शुभ मानिने भएकाले शुभकार्यमा यसको प्रयोग गरिन्छ। रोपाइँको दिन दहीचिउरा सेवन गर्दा शरीरमा ऊर्जा कायम रहने, आलस्य हट्ने तथा गर्मी मौसममा शीतलता मिल्ने विश्वाससमेत रहेको छ।
कृषि कार्यका क्रममा किसान लामो समय खेतमा व्यस्त रहने भएकाले सजिलै तयार हुने र लामो समयसम्म ऊर्जा प्रदान गर्ने खाद्यका रूपमा दहीचिउरा खाने चलन विकसित भएको मानिन्छ। चिउरामा प्रशस्त कार्बोहाइड्रेट हुने भएकाले यसले शरीरलाई आवश्यक शक्ति प्रदान गर्छ भने दहीमा पाइने क्याल्सियम, पोटासियम, भिटामिन तथा लाभदायक जीवाणुले पाचन प्रणाली सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने स्वास्थ्य विज्ञहरू बताउँछन्। गर्मी मौसममा शरीरलाई चिसो राख्न पनि दही उपयोगी मानिन्छ।
नेपाल डेरी एसोसिएसनका अनुसार यस वर्ष असार १५ का अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। यसको बजार मूल्य करिब १ अर्ब रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ।
एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार असार १५ मा दही तथा दुग्धजन्य पदार्थको माग उल्लेखनीय रूपमा बढ्ने भएकाले दूध उत्पादक किसान, दुग्ध सहकारी तथा डेरी उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। उनका अनुसार दहीचिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादनको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको प्रतीक पनि हो।
यस अवसरमा एसोसिएसनले स्वदेशमै उत्पादित दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोगलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिन सबै उपभोक्तासमक्ष आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे