
काठमाडौँ । भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या १,४३० पुगेको छ भने ३,२३८ जना घाइते भएका छन्। हजारौं मानिस अझै बेपत्ता भएकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्पपछि उद्धार टोली र स्थानीय बासिन्दाले भत्किएका भवनका भग्नावशेष हटाएर जीवित मानिस खोज्ने काम जारी राखेका छन्। विज्ञहरूका अनुसार भूकम्पपछिको पहिलो ७२ घण्टा जीवित व्यक्तिलाई उद्धार गर्ने सबैभन्दा महत्वपूर्ण समय हुन्छ।
शुक्रबार भूकम्प गएको करिब ३२ घण्टापछि भग्नावशेषबाट एक शिशुलाई जीवितै निकालिएपछि प्रभावित क्षेत्रमा केही आशा जागेको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा पनि व्यापक रूपमा फैलिएको छ।
भूकम्पका कारण लाखौं मानिस सुरक्षित बासस्थान, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक सामग्रीबाट वञ्चित हुने अवस्था सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। ६ करोड ७६ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
यसबीच, अमेरिका सहित विभिन्न देशहरूले राहत र उद्धारका लागि सहयोग पठाउन थालेका छन्। अमेरिकी सैन्य विमानहरू राहत सामग्री बोकेर भेनेजुएलामा अवतरण गरेका छन् भने नौसेनाको जहाज पनि सहायता लिएर पुगेको छ।
संयुक्त राष्ट्रसंघका अनुसार भूकम्पबाट करिब ६.७ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ, जसले देशको अर्थतन्त्रमा ठूलो असर पर्ने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे