
काठमाडौँ । नेपालको राहदानी (पासपोर्ट) खरिद प्रक्रियासम्बन्धी विवाद र त्यससँग जोडिएको अदालतमा विचाराधीन मुद्दाबारे सञ्चारमाध्यममा आएका केही समाचारप्रति काठमाडौँस्थित जर्मन दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। दूतावासका अनुसार हालै प्रकाशित केही समाचार गलत, भ्रामक र तथ्यमा आधारित छैनन्। विशेषगरी, बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मनीको परराष्ट्र मन्त्रालयमा बोलाएर स्पष्टीकरण सोधिएको वा सोधपुछ गरिएको भन्ने समाचार सत्य नभएको दूतावासले स्पष्ट पारेको छ।
दूतावासका अनुसार उहाँलाई सामान्य कूटनीतिक बैठकका लागि मात्र निमन्त्रणा गरिएको थियो, जुन नियमित अभ्यासको हिस्सा हो। त्यहाँ नेपाललाई कुनै विरोधपत्र वा कानुनी कागजात पनि दिइएको थिएन। जर्मनीले नेपालको आन्तरिक कानुनी प्रक्रिया र न्यायपालिकाको पूर्ण सम्मान गर्ने दोहोर्याउँदै राहदानी प्रकरणमा आफूले कुनै टिप्पणी वा हस्तक्षेप नगरेको जनाएको छ। साथै, भ्रमपूर्ण समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गर्दै नेपाल र जर्मनीबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध यस्ता अफवाहले असर नपार्ने विश्वास व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे