
काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि अब आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ। निगमले बुधबारदेखि लागू हुने गरी प्रतिलिटर ४० रुपैयाँले इन्धनको मूल्य घटाएको हो। यससँगै वायुसेवा कम्पनीहरूले टिकटमा जोडिने इन्धन शुल्क घटाउने तयारी गरेका छन्, जसले यात्रुलाई सस्तो भाडा पर्नेछ।
वायुसेवा कम्पनीहरूले इन्धनको लागतअनुसार भाडा तय गर्छन्, त्यसैले इन्धन सस्तो हुँदा टिकट पनि सस्तो हुन्छ। बुद्ध एयरका अनुसार भोलिदेखि नै नयाँ दर लागू गर्ने तयारी भइरहेको छ।
यसअघि पश्चिम एसियाको द्वन्द्वका कारण हवाई इन्धनको मूल्य बढेर धेरै महँगो भएको थियो, तर पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि घटाइएको हो। निगमले आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय उडानका लागि पनि इन्धन मूल्य घटाएको छ। काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा फरक दर तोकिएको छ।
सरकारले पोखरा र भैरहवामा केही छुट दिएको छ। अन्तर्राष्ट्रिय वायुसेवाको टिकट मूल्य भने बजारले नै निर्धारण गर्छ, सरकारले प्रत्यक्ष हस्तक्षेप गर्दैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे