
काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसीनाले यसै वर्ष आफ्नो देश फर्किने घोषणा गरेकी छन्। उनी करिब दुई वर्षदेखि भारतमा बस्दै आएकी छन् । भारतमा निर्वासनमा बसिरहेकी उनले एक अन्तर्वार्तामा आफू कुनै पनि बाधा वा चुनौतीबाट नडराउने बताइन्। उनका अनुसार आफूमाथि लगाइएका आरोप र सुनाइएको मृत्युदण्डको फैसला राजनीतिक उद्देश्यले गरिएको हो।
सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि हसीनाको १५ वर्ष लामो शासन समाप्त भएको थियो। आन्दोलन चर्किएपछि सुरक्षाको कारण उनी केही आफन्तसँग भारत गएकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा धेरै कम देखिएकी छन्।
हसीनाले विगतमा आफूविरुद्ध धेरै षड्यन्त्र भए पनि जनताले पाँच पटक प्रधानमन्त्रीमा निर्वाचित गरेको र देशको विकासका लागि काम गरेको दाबी गरेकी छन्। उनले यसै वर्ष बंगलादेश फर्किने अडान दोहोर्याएकी छन्।
गत नोभेम्बरमा ढाकाको अदालतले हत्या गराउन उक्साएको, हिंसा रोक्न नसकेको र मानवता विरुद्ध अपराध गरेको अभियोगमा उनलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।
यता, हसीनाको दल अवामी लिगमाथि पनि प्रतिबन्ध लगाइएको छ। अन्तरिम सरकारपछि बंगलादेशमा नयाँ निर्वाचित सरकार बनेसँगै भारत–बंगलादेश सम्बन्ध केही सुधारिएको भए पनि हसीनालाई स्वदेश फर्काएर कानुनी कारबाही गर्नुपर्ने माग भने अझै जारी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे