
पश्चिम नवलपरासी । नेपाल–भारत सीमा विवादसँग जोडिएको संवेदनशील सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको छ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार नारायणी नदी किनारमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी) का करिब ४० देखि ५० जना सदस्य नेपाली भूमिमा प्रवेश गरी दबाब दिएको आरोप लागेको छ।
सुस्ता गाउँपालिका–५ स्थित उक्त क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रण तथा बस्ती संरक्षणका लागि तटबन्ध निर्माण कार्य भइरहेको थियो। तर भारतीय पक्षको उपस्थितिपछि निर्माण कार्य प्रभावित भएको गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिएका छन्। उनका अनुसार एसएसबीले निर्माण कार्य तत्काल रोक्न दबाब दिएको दाबी गरिएको छ।
स्थानीय बासिन्दाहरूले पनि निर्माणाधीन तटबन्धमा भारतीय सुरक्षाकर्मीको हस्तक्षेपपछि काम अवरुद्ध भएको बताएका छन्। उनीहरूका अनुसार नदी कटान नियन्त्रण र बस्ती संरक्षणका लागि महत्वपूर्ण मानिएको उक्त परियोजना अचानक रोकिँदा स्थानीयमा चिन्ता बढेको छ।
घटनापछि सीमा क्षेत्रमा थप सतर्कता अपनाइएको स्थानीय स्रोतले जनाएको छ। यद्यपि, यस विषयमा भारतीय पक्षबाट औपचारिक प्रतिक्रिया प्राप्त भइसकेको छैन।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने सुस्ता क्षेत्र लामो समयदेखि विवादित भूभागका रूपमा परिचित छ। नदीको धार परिवर्तन, भूमि स्वामित्व तथा सीमा व्यवस्थापनका विषयमा यस क्षेत्रमा समय–समयमा तनाव र विवाद उत्पन्न हुँदै आएको छ।
घटनाबारे सम्बन्धित सुरक्षा निकाय र प्रशासनले आवश्यक जानकारी संकलन तथा थप अध्ययन गरिरहेको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे