
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सुर्तीजन्य पदार्थको सेवन छोड्न सबैलाई आग्रह गरेकी छन्। उनले सन्देशमार्फत आजैदेखि छोड्ने संकल्प गर्न समेत अनुरोध गरेकी हुन्।
मन्त्री मेहताका अनुसार सुर्तीजन्य पदार्थ छोड्नु सुरुमा गाह्रो हुन सक्छ, तर परिवारको साथ र स्वास्थ्यकर्मीको सल्लाहले यो सम्भव छ। उनले भेप, हुक्का र ई–सिगरेटजस्ता आधुनिक देखिने तर हानिकारक उत्पादनहरूबाट पनि टाढा रहन आग्रह गरेकी छन्।
उनले यी सबैमा निकोटिन र विषालु तत्व हुने भएकाले कुनै भ्रममा नपर्न चेतावनी दिएकी छन्। नेपालमा करिब २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् र यसका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढीको मृत्यु हुने तथ्य पनि उल्लेख गरिएको छ।
मन्त्रीले युवालाई लक्षित गरी भइरहेको आकर्षक तर गलत प्रचारप्रति सचेत हुन आग्रह गर्दै उद्योगका गलत अभ्यास रोक्नुपर्ने बताएकी छन्। सरकारले कानुन कार्यान्वयनलाई पनि कडाइका साथ अघि बढाइरहेको उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे