
काठमाडौँ । चण्डिकाप्रसाद भट्टले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उनले बुझाएको राजीनामा सनाखत प्रक्रियामा रहेको छ ।
मन्त्रालय स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले करिब एक साताअघि भट्टलाई राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन् । राजीनामा नदिए पदमुक्त गर्ने तयारी रहेको संकेतपछि उनले पद त्याग गर्ने निर्णय लिएको बताइएको छ ।
निर्देशन प्राप्त भएपछि भट्टले केही दिन समय मागेका थिए । त्यसपछि करिब एक सातापछि उनले औपचारिक रूपमा राजीनामा बुझाएको मन्त्रालयले जनाएको छ ।
सरकारले पछिल्लो समय विभिन्न सार्वजनिक संस्थान तथा निकायमा भएका राजनीतिक नियुक्तिहरू पुनरावलोकन गर्दै पदमुक्त गर्ने प्रक्रिया अघि बढाइरहेको छ । सोही क्रममा दोस्रो चरणमा हटाइने कार्यकारी प्रमुखहरूको सूचीमा चण्डिकाप्रसाद भट्ट पनि रहेका थिए ।
उनीलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० फागुन २६ गते तीन वर्षका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे