
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा पुनः सुचारु भएको जनाएको छ । विभागले सूचना जारी गर्दै वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा देखिएको प्राविधिक समस्या समाधानपछि वैशाख ३० गतेदेखि सेवा नियमित रूपमा सञ्चालनमा आएको जानकारी दिएको हो ।
विभागका अनुसार प्रणालीमा आएको प्राविधिक समस्याका कारण नयाँ दर्ता प्रक्रियाबाट प्राप्त हुने राष्ट्रिय परिचय नम्बर प्रमाणीकरण सेवा अस्थायी रूपमा अवरुद्ध भएको थियो । मर्मत तथा प्राविधिक सुधार कार्य सम्पन्न भएपछि सेवा पुनः सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।
कमल प्रसाद पाण्डेद्वारा जारी सूचनामा सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति विभागले क्षमायाचना गरेको उल्लेख छ । विभागले अब सेवा नियमित रूपमा सञ्चालन हुने जानकारीसमेत दिएको छ ।
यसअघि प्रणालीमा आएको समस्याका कारण देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा राष्ट्रिय परिचयपत्र दर्ता केन्द्रहरूमा सेवा प्रभावित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे