
काठमाडौँ। सङ्घीय संसद् सचिवालयले संसद् बैठकलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने उद्देश्यसहित विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी थालेको छ। त्यसका लागि सांसदहरूको बायोमेट्रिक विवरण संकलन तथा औपचारिक तस्बिर खिच्ने कार्य अघि बढाइएको सचिवालयले जनाएको छ।
सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार संघीय संसद्का सबै सदस्यलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। सांसदहरूको बायोमेट्रिक विवरण संकलनसँगै औपचारिक तस्बिरसमेत खिचिने भएकाले औपचारिक पोशाकमा संसद्को लोगो लगाएर उपस्थित हुन अनुरोध गरिएको छ।
सूचनाअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ। सोही अवधिमा अर्थ समिति तथा विधायन व्यवस्थापन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूलाई बिहीबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ भने कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ।
भोलि शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरूलाई बिहान १० बजेदेखि १२ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ। पूर्वाधार विकास समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन आग्रह गरिएको छ।
यसैगरी महिला तथा सामाजिक मामिला समितिका सदस्यहरूलाई शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म सार्वजनिक लेखा समितिको सभाकक्षमा उपस्थित हुन भनिएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई अर्थ समितिको सभाकक्षमा उपस्थित हुन अनुरोध गरिएको छ। सचिवालयले वैशाख २८ गते सार्वजनिक लेखा समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई समेत छुट्टाछुट्टै सभाकक्षमा उपस्थित हुन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे