
काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार ओलीलाई बिहान करिब साढे नौ बजे शल्यक्रियाका लागि शल्यकक्षमा लगिएको थियो।
अधिकारीका अनुसार करिब दुई घण्टापछि बिहान ११ बजेर ४५ मिनेटतिर शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको चिकित्सकहरूले जानकारी गराएका छन्। शल्यक्रियापछि ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
यस सम्बन्धमा विस्तृत जानकारी अस्पतालले केही समयपछि औपचारिक विज्ञप्तिमार्फत सार्वजनिक गर्ने तयारी गरेको पनि अधिकारीले बताए।
यसअघि गरिएको स्वास्थ्य परीक्षणका क्रममा ओलीको पित्तथैलीमा २३ दशमलव ४ मिलिमिटर आकारको पत्थरी देखिएको थियो। सोही आधारमा चिकित्सकहरूको सल्लाहअनुसार शल्यक्रिया गरिएको हो।
ओलीको स्वास्थ्यमा सुधार देखिएकाले चिकित्सकीय निगरानीमा राख्दै आवश्यक थप उपचार प्रक्रिया अघि बढाइने बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे