
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा भएको ठूलाे राजस्व चुहावट प्रकरणमा तत्कालीन परियोजना प्रमुख तथा बागमती नगरपालिकाका नगर प्रमुखसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
आयोगका अनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने राष्ट्रिय वन क्षेत्रमा अवैध उत्खनन गरी ५८ करोड रुपैयाँभन्दा बढी राजस्व हिनामिना गरिएको छ। यस प्रकरणमा परियोजनाका तत्कालीन प्रमुख विशाल घिमिरे र बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापासहितका पदाधिकारी संलग्न रहेको दाबी अख्तियारको छ।
अनुसन्धानका क्रममा बागमती नगरपालिका वडा नं. ४ र १२ मा पर्ने मूर्तिया वन व्यवस्थापन शाखाअन्तर्गतको क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी बहुउद्देश्यीय माछा पोखरी निर्माणको नाममा ढुंगा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थको व्यापक उत्खनन गरिएको पाइएको आयोगले जनाएको छ। उक्त उत्खननमार्फत ब्लक नं. ६, ८, ११ र १२ मा पर्ने राष्ट्रिय वन क्षेत्रबाट ७ करोड ३८ लाख क्यु फिटभन्दा बढी वन पैदावार निकालिएको उल्लेख छ।
अख्तियारका अनुसार सो परिमाणको उत्खननबाट उठ्नुपर्ने ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ ९९ पैसा बराबरको रोयल्टी असुल नगरी राजस्व हिनामिना गरिएको छ। अनुसन्धानबाट सागरनाथ वन विकास परियोजना, मातहतका अधिकारी तथा बागमती नगरपालिकाका पदाधिकारीबीच मिलेमतो रहेको देखिएको आयोगले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे