
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारका नाममा छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार उक्त निर्देशन जारी गरेको हो।
निर्वाचन आयोग नेपालको अनुरोधअनुसार आमनिर्वाचन सम्पन्न भई आयोगबाट औपचारिक रूपमा बैंक खाता बन्द गर्न निर्देशन नआएसम्म सञ्चालन हुने गरी खाता खोल्न व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंकहरूलाई भनेको छ।
निर्वाचन आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा ‘आम निर्वाचन अभियान समूह’ वा त्यससँग मिल्दोजुल्दो नाममा नेपाली मुद्रामा आम्दानी तथा खर्चको कारोबार गर्न सक्ने गरी खाता खोल्न निर्देशन दिइएको छ।
राष्ट्र बैंकका अनुसार प्रत्येक राजनीतिक दल, ती दलबाट प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिक उम्मेदवारसमेत) तथा स्वतन्त्र उम्मेदवारले अनिवार्य रूपमा एउटै मात्र छुट्टै बैंक खाता खोली निर्वाचन खर्च तथा आम्दानीको कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसरी खोलिने बैंक खाताको हकमा राष्ट्र बैंकबाट जारी ‘एकीकृत निर्देशन, २०८२’ को निर्देशन नम्बर २१ अन्तर्गत प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाइने व्यवस्थामा निर्वाचन आयोगबाट खाता बन्द गर्न निर्देशन नआएसम्मका लागि विशेष छुट प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे