
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाका कारण ऐतिहासिक पार्टी कमजोर बन्दै गएको आरोप लगाएका हुन्।
बुधबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले अहिले देशको अवस्था निकै संवेदनशील रहेको बताए। लोकतन्त्र कमजोर बन्दै गएको, राजनीतिक अस्थिरता बढेको र भविष्य अनिश्चित भएको समयमा कांग्रेसभित्र देखिएको विभाजन दुःखद र चिन्ताजनक भएको उनको भनाइ छ। यस्तो बेला सबै लोकतान्त्रिक शक्तिहरू एक भएर अघि बढ्नुपर्नेमा कांग्रेसभित्रै झगडा हुनु दुर्भाग्यपूर्ण भएको उनले उल्लेख गरेका छन्।
उनले “कांग्रेस लासहरूको पार्टी होइन” भन्दै अभिव्यक्ति दिने केही नेताहरूले नै पार्टीलाई झन् संकटतर्फ धकेलेको आरोप लगाए। उनका अनुसार यस्ता गतिविधिले लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टीलाई कमजोर बनाउने काम गरिरहेको छ।
बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि प्रशंसा गरेका छन्। निरंकुश भएको आरोप लागे पनि ओलीले पार्टीलाई एकतामा राख्न महत्वपूर्ण भूमिका खेलेको उनको दाबी छ। स्पष्ट नेतृत्व र जिम्मेवारी बोध नभएकै कारण कांग्रेस आज विभाजनको अवस्थामा पुगेको उनको भनाइ छ।
अन्त्यमा उनले देशमा असंवैधानिक गतिविधि बढ्दै गएको र विदेशी हस्तक्षेपको खतरा समेत देखिएको अवस्थामा कांग्रेसका केही नेताहरूको भूमिकाले समस्या समाधान गर्छ कि झन् जटिल बनाउँछ भन्ने कुरा इतिहासले मूल्यांकन गर्ने बताएका छन्। कांग्रेसभित्र अहिले भएको यो घटनाले लोकतन्त्रमा विश्वास गर्ने सबैलाई दुःखी बनाएको उनले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे