
काठमाडौं, ८ असोज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार तयारी अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा योग्य र अनुभवी नेतृत्वको खाँचो औंल्याइँदै आएको छ। यसै सन्दर्भमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदन कुमार पियाको नाम सार्वजनिक चर्चामा आएको छ।
डा. पिया नेपालकै प्रमुख क्यान्सर विशेषज्ञ मात्र नभई सार्क फेडेरेसन अफ अन्कोलोजिस्टका संरक्षक पनि हुन्। चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय उनी स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा र अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएका छन्। यस कारणले उनको नाम स्वास्थ्य मन्त्रालयको जिम्मेवारीका लागि उपयुक्त ठहरिएको देखिन्छ।
प्रधानमन्त्री कार्कीले आगामी केही दिनभित्रै मन्त्रिपरिषद्मा तीन मन्त्री थप गर्ने तयारी गरेकी छिन्। यस क्रममा डा. पियाको अनुभव, विशेषज्ञता, नेतृत्व क्षमता र समाजमा रहेको उच्च प्रतिष्ठा महत्वपूर्ण पक्षको रूपमा हेरिएको छ। विशेषगरी जेनजी आन्दोलनका अगुवाहरूले पनि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उनी जस्तै व्यक्तिलाई दिनुपर्ने माग अघि सारेका छन्।
स्वास्थ्य क्षेत्रप्रति डा. पियाको गहिरो ज्ञान र संलग्नताका कारण आगामी दिनमा मन्त्रालयको काम पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ। विशेषज्ञहरूको भनाइमा, उनको नेतृत्वमा क्यान्सर उपचारसहित सम्पूर्ण स्वास्थ्य सेवामा सुधार हुने र नवीनतम पहलहरू लागू हुने सम्भावना उच्च रहेको छ।
आम नागरिक र चिकित्सक समुदाय दुवैको अपेक्षा अनुसार, यदि डा. पियाले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए भने स्वास्थ्य क्षेत्रमा दीर्घकालीन र स्थायी सुधारको मार्ग प्रशस्त हुने विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे