
काठमाडौँ । चीनको थियानचिनमा भइरहेको साङ्घाइ सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिनबीच महत्वपूर्ण द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार पुटिनसँग भेटवार्ता गर्दै नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा जोड दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, करिब आधा घण्टा चलेको उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र क्षेत्रीय सहयोगका विषयमा गहन छलफल भएको थियो। दुबै नेताले नेपाल–रुस बीचको ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा अझै सबल र व्यावहारिक बनाउनुपर्नेमा सहमति जनाए।
शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले यसअघि चीनका राष्ट्रपति सी जिङपिङसँग पनि उच्चस्तरीय भेटवार्ता गरेका थिए। त्यस अवसरमा उनले चीन र भारतबीचको लिपुलेक सम्झौताका विषयमा नेपालले प्रष्ट धारणा राख्दै राष्ट्रिय स्वाधीनताको प्रश्नमा कुनै सम्झौता नगर्ने बताएका थिए।
त्यसैगरी, आइतबार उनले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए। सो भेटमा द्विपक्षीय व्यापार, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र क्षेत्रीय सहयोगका सम्भावनाबारे छलफल भएको थियो।
एससीओ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओलीको यो भ्रमण नेपालका लागि कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ। चीन, रुस, भारत लगायतका शक्तिशाली राष्ट्रसँग प्रत्यक्ष उच्चस्तरीय संवादमार्फत नेपालले आफ्नो भू–राजनीतिक सन्तुलन र कूटनीतिक सक्रियता बढाउने अपेक्षा गरिएको छ।
विशेषज्ञहरूका अनुसार, प्रधानमन्त्री ओलीको हालसम्मका भेटवार्ताले नेपाललाई बहुपक्षीय कूटनीतिमा सशक्त रूपमा प्रस्तुत गर्ने अवसर दिनेछ। रुससँग ऊर्जा, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा सहयोग विस्तार गर्ने सम्भावना रहेको छ भने चीनसँगको वार्ताले नेपाल–चीन सम्बन्धलाई दीर्घकालीन साझेदारीतर्फ डोर्याउने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे