
काठमाडौं — आजदेखि चार महिनासम्म तुलसीको विशेष पूजा सुरु हुँदैछ। आज आषाढ शुक्ल एकादशी, जसलाई हरिशयनी एकादशी भनिन्छ। यही दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्न जानुहुन्छ भन्ने धार्मिक विश्वास छ। त्यसैले चतुर्मास भन्ने यी चार महिनामा विष्णु र तुलसीको विशेष पूजा गरिन्छ।
आजको दिन, एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीमा राखिएको दलको बिरुवा तुलसीको मोठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीक मानिन्छ र यसले घरको वातावारण पनि सफा बनाउँछ भन्ने विश्वास छ। तुलसी भएको ठाउँमा सकारात्मक उर्जा आउँछ, रोग सार्ने कीटाणु आउँदैनन् भन्ने पनि भनिन्छ।
व्रतको कुरा गर्दा, वर्षभर २४ एकादशी पर्छन्। कोहीले सबै दिन व्रत गर्छन्, कोहीले चतुर्मासको आठ एकादशी मात्रै। समय नमिल्नेले हरिशयनी र हरिबोधिनी दुई मुख्य एकादशीमा व्रत गर्छन्।
आज काठमाडौंको बूढानीलकण्ठ, चार नारायण मन्दिरलगायत देशभरका विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ। एकादशीमा चामल नखाइ फलाहार गरिन्छ।
कार्तिक शुक्ल एकादशीमा तुलसीको विवाह भगवान् दामोदरसँग गरिन्छ र चतुर्मासको समापन हुन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे