
काठमाडौँ – सांसदहरूको छलफलमै नपरेको कानुनी व्यवस्था संसद्मा जबरजस्ती घुसाएको आरोपमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडामाथि कारबाहीको माग उठेको छ।
नेकपा एमालेका सांसद सूर्य थापाले समितिको प्रतिवेदनमा नभएको “बाहेक” भन्ने शब्द विधेयकमा हालिएको भन्दै आपत्ति जनाउँदै खतिवडासहित समितिका सचिवलाई जवाफदेही बनाउन माग गरेका छन्। उनले भने, “यदि साँच्चै यस्तो गरिएको हो भने यो क्षमायोग्य छैन। कानुन निर्माणको विधि र प्रक्रियामै खिल्लि उडाइएको छ।”
निजामती विधेयक प्रतिनिधिसभाबाट पास गर्दा सरकारी कर्मचारीलाई ‘कुलिङ पिरियड’ राख्ने भनेर भएको सहमति उल्टिएको पाइएपछि सांसदहरू आक्रोशित भएका छन्। यसअघि समितिले सेवाबाट अवकाश पाएका कर्मचारीले दुई वर्षसम्म अन्य नियुक्ति नपाउने व्यवस्था गर्ने सहमति गरेको थियो। तर संसदबाट पारित विधेयकमा ‘बाहेक’ शब्द राखेर त्यसमा छुट दिइएको छ।
यसपछि सांसदहरूले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् र जसले यो हेरफेर गर्यो, उसलाई कारबाही गर्न माग गरेका छन्। सांसदहरूले संसद्को निर्णयमाथि चलखेल हुनु गम्भीर विषय भएको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे