
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार र सोमबार पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा रहेको चेतावनी दिएको छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिन अनुसार ती जिल्लाहरूमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसै आधारमा प्राधिकरणले स्थानीय प्रशासन र नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
जोखिममा परेका जिल्ला सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, र लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ रहेका छन्। अन्य केही पहाडी जिल्लाहरूमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ र कैलालीका केही स्थानमा भारी वर्षा भइसकेको छ। हाल देशभर आकाश बदली रहेको र कतिपय ठाउँमा वर्षा भइरहेको छ।
असार १६ गते सोमबार बिहानसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र डुबानको जोखिम बढ्न सक्ने सम्भावना रहेको विज्ञहरूले जनाएका छन्। सावधानी अपनाउन र जोखिम क्षेत्रबाट टाढा रहन सम्बन्धित निकायले अनुरोध गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे