
काठमाडौँ- हरेक वर्ष असार १५ गते ‘धान दिवस’को रूपमा मनाइन्छ । आजको दिन किसानहरूले खेतमा रोपाइँ गरी दही चिउरा खाएर पर्व मनाइरहेका छन् । खेतमा काम गरेर थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने परम्परा छ, जसले शरीरमा शीतलता दिनुका साथै ऊर्जा पनि प्रदान गर्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने विशेष पर्वका रूपमा लिइन्छ । कृषिमा संलग्न मात्र होइन, अन्य पेशा र व्यवसायमा आवद्ध नेपालीहरूले पनि दही चिउरा खाएर यो दिन मनाउने गर्छन् ।
दही नेपाली संस्कृति र परम्परामा पनि अत्यन्तै महत्वपूर्ण छ । शुभकार्य अघि निधारमा दही अक्षता मुछेर टीका लगाउने र दही खुवाएर सगुन दिने चलन छ । दही खाएर घरबाट निस्कनु शुभ मानिन्छ ।
दही स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ । गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खुवाएर पराक्रमी हुने भविष्यवाणी गरेको भनाइ छ । आयुर्वेदमा पनि दहीबाट बनाइएको मोही सेवन गर्दा वैद्यको आवश्यकता नपर्ने उल्लेख छ । पाचन शक्ति बढाउने र पखाला जस्ता समस्यामा उपयोगी दही चिउराले नेपाली समाजमा सांस्कृतिक महत्व पाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे