
काठमाडौं । अष्ट्रेलियाले अमेरिकाले इरानमाथि गरेको आक्रमणको समर्थन गरेको छ। बीबीसीका अनुसार, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानका आणविक स्थापनामाथि गरिएको अमेरिकी कारबाहीलाई समर्थन जनाएका हुन्।
प्रधानमन्त्री अल्बानीजले भने, “इरानलाई आणविक हतियार राख्न दिनु हुँदैन। अमेरिकी आक्रमणको कारण इरान पुनः वार्तामा फर्कन प्रेरित हुन सक्छ।” यद्यपि, अमेरिकाले आक्रमणअघि अष्ट्रेलियालाई पूर्व सूचना दिएको थियो कि थिएन भन्नेबारे उनले केही बताएनन्।
उनले स्पष्ट पारे कि ट्रम्प प्रशासनको ‘एकतर्फी मिसन’ मा अष्ट्रेलियाको कुनै सैन्य स्रोत वा प्रत्यक्ष समर्थन थिएन। साथै, प्रधानमन्त्री र विदेशमन्त्री पेनी वोंगले पाइन ग्यापस्थित अष्ट्रेलियाली सञ्चार केन्द्र अमेरिकी कारबाहीमा प्रयोग भएको थियो वा थिएन भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरे।
अल्बानीजले मध्यपूर्वमा सम्भावित ‘पूर्णस्तरीय युद्ध’ को खतरा देखाउँदै सबै पक्षलाई वार्तामा फर्कन आग्रह गरे। अष्ट्रेलियाको भनाइ छ, “इरानले बारम्बार अन्तर्राष्ट्रिय दायित्व पालना गर्न असफल भएको छ। यसैले हामी थप उक्साहटपूर्ण कदमबाट इरानलाई टाढा रहन आग्रह गर्छौं।”
यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका तीन ठूला आणविक केन्द्र—फोर्डो, नातान्ज र इस्फहान—मा आक्रमण गरी ती ध्वस्त पारेको दाबी सार्वजनिक गरेको झण्डै २४ घण्टापछि आएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे