
एजेन्सी । इरानको राजधानी तेहरानमा रहेका ११ नेपाली नागरिकको उद्धारका लागि भारतीय दूतावासले प्रक्रिया सुरु गरेको छ। उनीहरूलाई आइतबार बिहान बसमार्फत तेहरानबाट कोमहुँदै मशहद पुर्याइने भएको हो। उद्धार हुनेमा हरि थापा र उनका परिवार, बुटवलका गणेश पोखरेलसहित विभिन्न शहरका नेपाली छन्, जो तेहरानमा रेस्टुरेन्ट तथा दूतावासहरूमा काम गर्दै आएका थिए।
युद्धको जोखिम बढेसँगै सुरक्षित स्थानमा सार्ने काम अघि बढाइएको हो। यसैबीच, युद्धका कारण तेहरान छोडेका सात नेपाली पुनः उद्धारका लागि फर्किंदै छन्। इरानी जेलमा रहेका पाँच नेपालीमध्ये तीन जनाको कागजपत्र तयार भएको र दुईजनासँग पासपोर्ट नभएको जनाइएको छ। अदालतले उनीहरूलाई स्वदेश फिर्ता गर्न आदेश दिएको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतसँग सहयोग मागेकी छन्। भारतले ‘अपरेशन सिन्धु’ अन्तर्गत हालसम्म ८२७ भारतीय नागरिकलाई इरानबाट सुरक्षित रूपमा फिर्ता गरेको जनाएको छ। नेपाल सरकारको अनुरोधपछि तेहरानस्थित भारतीय दूतावासले उद्धारमा सहयोग गर्ने जनाउँदै सम्पर्क गर्न फोन नम्बरहरू सार्वजनिक गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे