
काठमाडौँ – भारतको उत्तराखण्ड राज्यको काशिपुरमा रोजगारीको झूटा प्रलोभनमा बोलाइ बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इण्डिया’को संयुक्त प्रयासबाट असार ५ गते उनीहरूलाई मुक्त गराइएको हो।
यी युवालाई नेपालका विभिन्न जिल्लाबाट आकर्षक आम्दानीको प्रलोभन दिएर बोलाइएको थियो। तर, भारत पुगेपछि कागजात बनाउने बहानामा २० देखि ५० हजार भारतीय रुपैयाँ सम्म असुल गरी कुटपिट र यातना दिइएको थियो। यसरी बन्दी बनाइएका युवाहरूलाई डराएर नेपालबाट थप मानिसहरू सम्पर्क गराउन लगाइन्थ्यो।
प्रहरी अनुसार, यो समूह नेपालीहरूलाई नै प्रयोग गरेर अरू युवालाई फँसाउने कार्यमा संलग्न थियो। उत्तराखण्ड प्रहरीले केही सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। राजदूतावासले उत्तराखण्डका अन्य स्थानमा फँसिएका थप नेपालीहरूको खोजी र उद्धार जारी रहेको बताएको छ। उद्धार गरिएका युवाहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फिर्ता पठाइने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे