
काठमाडौँ, २४ वैशाख – भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेको छ। बीबीसीका अनुसार यस आक्रमणमा ३० जना पाकिस्तानीको ज्यान गएको छ। पाकिस्तानी सेनाका अनुसार घटनामा ३५ जना घाइते भएका छन्। पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ ।
पाकिस्तानको सेनाका प्रवक्ता अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी मिडियाले भारतले पाकिस्तान र पाकिस्तान-अधीन कश्मीरका तीन ठाउँमा आक्रमण गरेको बताएका छन्। तर भारतले भने जम्मा नौ स्थानमा आक्रमण गरिएको दाबी गरेको छ।
पाकिस्तान-प्रशासित कश्मीरको मुजफ्फराबादमा रहेका बासिन्दाहरूले राति ठूलो आवाजमा विस्फोट भएको र आफूहरू डरले स्तब्ध भएको बताएका छन्। पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका छन् । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ। जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ। भारतले यो आक्रमण पहलगाममा पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणको बदला स्वरूप गरेको बताएको छ। उ भारतले त्यस हमलाको दोष पाकिस्तानलाई दिएको छ।
घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् बिग्रिएको छ। दुबै देशसँग आणविक हतियार छन्, त्यसैले यस्तो तनावले गम्भीर रूप लिन सक्ने चिन्ता बढेको छ। कश्मीर क्षेत्रलाई दुबै देशले आफ्नो बताउँदै आएका छन्, जसले झनै विवाद बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे