
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सोमबार छलफल भयो। छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुबैका सांसदहरूले आ–आफ्नो धारणा राखे। सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमलाई व्यवहारिक, जनमुखी र प्रगतिशील भन्दै समर्थन जनाए भने प्रतिपक्षका सांसदहरूले यसको कार्यान्वयनमा चुनौती देखिएको बताए।
नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमको समर्थन गर्दै कार्यान्वयनका लागि राजनीतिक स्थिरता र स्रोतसाधनको व्यवस्थापनमा सचेत रहन सुझाव दिनुभयो। उहाँले सबै दलहरू मिलेर चुनौतिहरूको सामना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
एमालेका सांसद अमृतलाल राजवंशी, अमृतादेवी अग्रहरी, वासुदेव घिमिरे, अम्बरबहादुर रायमाझी र किरणकुमार साहले सरकारको नीति व्यवहारिक र सकारात्मक भएको बताउँदै समर्थन जनाए। उनीहरूले कृषि आधुनिकीकरण, खाद्य सुरक्षामा आत्मनिर्भरता, रोजगारी सिर्जना, उद्यम प्रवर्द्धन, र पूराना अधुरा पुलहरूको निर्माणमा ध्यान दिनुपर्ने बताए।
तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले जनताको जीवनमा ठोस परिवर्तन ल्याउने खालको मार्गदर्शन नदिएको टिप्पणी गर्नुभयो। उहाँले यसलाई अघिल्ला वर्षहरूको नक्कल मात्र भएको र कार्यान्वयन कमजोर तथा अपारदर्शी हुने आशंका व्यक्त गर्नुभयो।
प्रतिनिधिसभाको अर्को बैठक आज बिहान ११ बजे बस्नेछ र नीति तथा कार्यक्रममाथिको छलफल त्यहीँबाट निरन्तर हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे