
काठमाडौँ, १८ वैशाख – सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिमा शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । लामो समयदेखि विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारसँग ९ बुँदे सहमति गरेपछि आन्दोलन रोक्ने निर्णय गरेका छन्। बुधबार भएको सहमतिपछि अब शिक्षकहरु सडकमा नआउने बताएका छन्।
तर, विद्यालय कर्मचारीहरु भने यो सहमतिबाट सन्तुष्ट छैनन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले एक विज्ञप्ति जारी गर्दै उक्त सहमतिप्रति असहमति जनाएको छ। परिषद्का अनुसार आन्दोलनको मूल उद्देश्य – नयाँ शिक्षा ऐन ल्याउने – पूरा नहुँदै आन्दोलन फिर्ता लिनु गलत निर्णय हो।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले भने, “हामीले कानून बनाउने मागसहित आन्दोलन गरेका थियौँ, तर बिना ऐन आन्दोलन रोकिनु हाम्रो मागको उपेक्षा हो।” उनका अनुसार यो सहमति नेपाल शिक्षक महासंघको व्यक्तिगत निर्णय हो र परिषद्ले त्यसको समर्थन गर्दैन।
देशभरबाट शिक्षक र कर्मचारीहरु ऐनको माग लिएर काठमाडौं आएका थिए। तर सरकारसँग सामान्य सहमतिमा आन्दोलन रोकिएपछि धेरै शिक्षक र कर्मचारीहरु असन्तुष्ट बनेका छन्। अब शिक्षक महासंघभित्रै पनि मतभेद चर्किएको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे