
वीरगञ्ज, ४ वैशाख – जनता समाजवादी पार्टी (जसपा)का उपमहासचिव तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न सबै नागरिकहरूमा अपील गरेका छन्। पछिल्लो केही दिनदेखि दुई समुदायबीच देखिएको द्वन्द्व र आपसी तनावका कारण सामाजिक सञ्जालमार्फत उनले वीरगञ्जको ऐतिहासिक सांस्कृतिक पहिचान जोगाइराख्न आग्रह गरेका हुन्।
मन्त्री यादवले वीरगञ्जलाई धार्मिक स्थल, पर्व–संस्कृति र सामाजिक सद्भावको प्रतीक शहर भन्दै यहाँको मौलिक परम्परा सबै जातजाति, धर्म, समुदायबीचको मेलमिलाप रहेको स्मरण गराए। उनले संविधानले नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता दिएको उल्लेख गर्दै, पारस्परिक असमझदारीलाई संवादबाट समाधान गर्ने वीरगञ्जबासीको समझदारी र एकताको प्रशंसा गरे।
हालको अशान्त वातावरणमा तोडफोड, आगजनी र उत्तेजक अभिव्यक्ति दिने कार्यलाई रोक्न स्थानीय प्रशासनले कानुनी कदम चाल्नुपर्नेमा जोड दिंदै, उनले आफू निरन्तर पर्साका प्रशासन र सुरक्षाकर्मीहरूसँग सम्पर्कमा रहेको जानकारी दिए।
उनले सबै समुदायका अगुवासँग समन्वय गर्दै शान्ति स्थापनाको प्रयासमा रहेको बताउँदै भने, “हल्ला र प्रचारभन्दा गम्भीर प्रयास जरुरी छ। म नगरवासीहरूलाई विश्वास दिलाउन चाहन्छु, वीरगञ्ज फेरि पुरानै सद्भाव र लयमा फर्किन्छ।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे