
काठमाडौँ , १० चैत । पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) समन्वय समितिको बैठकले चार निरीक्षक र सहायक केन्द्राध्यक्षलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकले केन्द्राध्यक्ष मुनिलाल कर्णलाई परीक्षाको मर्यादा र अनुशासनको पालनामा कमी देखिएपछि सचेत गराउने निर्णय गर्यो। सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि शंकास्पद देखिएकाले उनलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने निर्णय पनि गरियो।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र निचुटा परीक्षा केन्द्रमा अभिभावक र अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले केन्द्राध्यक्षलाई लिखित चेतावनी दिने निर्णय पनि गरिएको छ। त्यस्तै, मसिहानी केन्द्रमा निरीक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवलाई मर्यादाविपरीत कार्य गरेको भन्दै जिम्मेवारीबाट हटाइएको छ।
सिद्धार्थ माध्यमिक विद्यालयको केन्द्रमा अध्यापन गराउने धमेन्द्र पाण्डे र रामबालक यादवलाई पनि निरीक्षकको जिम्मेवारीबाट हटाइएको छ। सुन्दरमल रामकुमार कन्या विद्यालयमा प्रश्नपत्र वितरणमा अनियमितता देखिएको छ, त्यसैले आगामी परीक्षा व्यवस्थापनमा सहजीकरण गर्न स्थानीय शिक्षा शाखा र अन्य अधिकारीलाई परिचालन गर्ने निर्णय गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे