
पोखरा— पोखरा महानगरपालिका प्रमुख जलनका कारण घाइते भई १२ दिनसम्म अस्पतालमा उपचार गराएपछि गृह नगर पोखरा फर्किएका छन्।
‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा प्राविधिक त्रुटिका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख घाइते भएका थिए। जलनको उपचारका लागि दुबैजनालाई कीर्तिपुर अस्पताल, काठमाडौंमा भर्ना गरिएको थियो। अर्थमन्त्री पौडेल केही दिनको उपचारपछि नियमित कार्यमा फर्किएका थिए भने पोखरा महानगर प्रमुख १२ दिनसम्म चिकित्सकीय निगरानीमा रहेर उपचार गराएका थिए।
उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका चिकित्सा संस्थाका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवारप्रति पोखरा महानगर प्रमुखले आभार व्यक्त गरेका छन्।
उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्दै सन्देश, आशीर्वाद तथा हौसला प्रदान गर्ने राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपाल सरकारका उच्च अधिकारी, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, पोखरेली जनसमुदाय तथा स्वदेश-विदेशका शुभेच्छुकप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्।
‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको साथ, सहयोग र सुझाव अपेक्षित रहेको उनले बताएका छन्। साथै, जलनका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सावधानी अपनाउने प्रतिबद्धता जनाउँदै निरन्तर सहयोग, सद्भाव र मायाका लागि पुनः धन्यवाद व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे