
काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले दैनिक दुई सिफ्टमा शल्यक्रिया (अपरेसन) गर्ने व्यवस्था मिलाएको छ। अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमका अनुसार, हाल एक सिफ्टमा मात्रै सञ्चालन हुँदै आएको शल्यक्रिया अब एक साताभित्र दुई सिफ्टमा विस्तार गरिनेछ।
डा. गौतमले अस्पतालको प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण थपिएको जानकारी दिएका छन्। उनका अनुसार, ल्याब परीक्षणका लागि बाह्य संस्थामा जानुपर्ने अवस्थालाई अन्त्य गर्न आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ। साथै, बाहिर पठाइने विभिन्न परीक्षणहरूको समीक्षा गरी थप आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजनाअनुसार काम अगाडि बढाइएको छ।
वीर अस्पतालले एमआरआई सेवाको विस्तारसमेत गरेको छ। निमित्त निर्देशक गौतमका अनुसार, हालसम्म दैनिक २५ वटा मात्र गरिँदै आएको एमआरआई परीक्षणको क्षमता वृद्धि गरी ३२ पुर्याइएको छ। यो विस्तारपछि मासिक रूपमा झण्डै २०० जना थप सेवाग्राहीले एमआरआई सेवा लिन सक्ने अस्पताल प्रशासनले जनाएको छ।
वीर अस्पतालमा सर्वाधिक आलोचित विषयमध्ये एक सरसफाइ रहेको छ। विशेष गरी शौचालयहरू सफा नभएको विषयमा बिरामी र कुरुवाहरूको गुनासो आउँदै आएको छ। यससम्बन्धी समस्या समाधानका लागि आवश्यक व्यवस्थापन सुरु गरिएको डा. गौतमले बताएका छन्।
डा. समाज गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक साताअघि वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए। मन्त्री पौडेलले उनीसामु अस्पतालमा तत्काल सुधार देखिने गरी काम गर्न निर्देशन दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे