
काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने तयारी गरेको छ। आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शैक्षिक वातावरण सुधार तथा विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको जानकारी दिएका छन्।
उक्त मेलामा विद्यालय शिक्षाका विभिन्न नवप्रवर्तन, सिकाइ उपलब्धि, विद्यार्थीका सिर्जनात्मक कार्य तथा शैक्षिक स्तरोन्नतिको प्रदर्शन गरिने बताइएको छ। विद्यालय शिक्षा सुधारको दीर्घकालीन योजनाका रूपमा मेला सहभागी विद्यालय, संघसंस्था तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच समन्वयकारी पहलको आधार बन्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा महानगरपालिकाका सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले विद्यालय शिक्षालाई वैज्ञानिक, व्यवहारिक र विद्यार्थी केन्द्रित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको बताएका छन्। वार्षिक परीक्षाको तयारीका क्रममा शैक्षिक मेला आयोजनाले प्रभाव पार्ने सम्भावनाबारे उठेको प्रश्नको जवाफ दिँदै उनले लिखित परीक्षाका अतिरिक्त व्यवहारिक एवं प्रयोगात्मक सिकाइ गतिविधिहरूको मुल्याङ्कन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
महानगरपालिकाका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीका अनुसार मेलाले विद्यार्थीको शैक्षिक, शारीरिक, मानसिक तथा चारित्रिक विकास, विद्यालयको पूर्वाधार तथा शिक्षकको क्षमता अभिवृद्धि जस्ता विषयलाई समेट्नेछ। महानगरको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक तथा शिक्षकहरूको समन्वयमा मेला सञ्चालन हुने जनाइएको छ।
मेला अवधिभर विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधिहरू प्रस्तुत गर्नेछन्। ‘बुक फ्री फ्राइडे’ अवधारणाअन्तर्गत ३५ शैक्षिक उपसमूहका स्टलहरू मार्फत रुचि तथा नतिजा प्रदर्शन गरिनेछ।
मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजा योजनाअन्तर्गत ३० रुपैयाँमा उपलब्ध खाजा १० स्टलमार्फत सबैलाई उपलब्ध गराउने जनाइएको छ। शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी अतिथिहरूलाई मेला अवलोकनका लागि निमन्त्रणा गरिएको छ।
महानगरपालिकाले ८७ सामुदायिक विद्यालयका ६१ हजार ३२९ विद्यार्थी र ५२४ संस्थागत विद्यालयका २ लाख १० हजार ९३४ विद्यार्थी गरी कुल २ लाख ७२ हजार २६३ विद्यार्थीका लागि गुणस्तरीय शिक्षा सुधार कार्यक्रम सञ्चालन गरिरहेको छ।
शिक्षा अनुसन्धानमा आधारित लगानी गर्दै महानगरले प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, सूचना प्रविधिको प्रयोग, ‘बुक फ्री फ्राइडे’, ‘टिचर कलेज प्रोग्राम’ र ‘नतिजा सुधार योजना’ कार्यान्वयन गरिरहेको छ।
‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ अभियानलाई समेत प्राथमिकता दिइएको छ। महानगरको बहुवर्षीय गौरव योजना ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ अन्तर्गत प्रयोगात्मक शिक्षामा जोड दिने नीति लिइएको छ।
‘फेस्ट’ (FEST) अवधारणामा आधारित यो शैक्षिक मेलाको पहिलो चरण अन्तर्गत आयोजना गरिएको हो।
महानगरपालिकाले सञ्चालन गरिरहेका यी कार्यक्रमहरूले शैक्षिक क्षेत्रलाई व्यवहारिक र वैज्ञानिक दृष्टिकोणमा लैजाने लक्ष्य राखेको छ। प्रदर्शनी, छलफल तथा व्यवहारिक सिकाइ प्रवर्द्धन गर्दै शिक्षालाई समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनको माध्यम बनाउने महानगरपालिकाको उद्देश्य रहेको बताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे