
काठमाडौं । स्वयम्भू क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक र स्थानीय उत्पादन प्रवर्धनका लागि स्वयम्भू महोत्सव सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्घाटन गर्दै स्वयम्भू क्षेत्र धार्मिक सहअस्तित्व र सहभावमा आधारित अनुपम समाज भएको बताउनुभयो। उहाँले उक्त विशेषतालाई निरन्तर प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो।
महानगर प्रमुख शाहले हिन्दू, बौद्ध, किराँत र बोन धर्मावलम्बीहरूको मिश्रित बसोबास रहेको यस क्षेत्रमा आपसी सद्भाव उल्लेखनीय रहेको बताउँदै धार्मिक सहिष्णुताको यस्तो उदाहरणीय समाज विरलै पाइने उल्लेख गर्नुभयो। उहाँका अनुसार स्वयम्भू क्षेत्रको पर्यटन पूर्वाधारलाई सुदृढ गर्न मौलिक खानालाई प्याकेजिङ गरी व्यावसायिक उचाइमा पुर्याउन सकिन्छ। साथै, कला र संगीतसमेत पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने बताउनुभयो।
संघीय सांसद तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले महोत्सवले ओझेलमा परेका सम्पदाको महत्त्व उजागर गर्ने अपेक्षा व्यक्त गर्नुभयो। पूर्वमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं महानगरपालिकाले परम्परागत बस्तीका घरहरूको मौलिकता जोगाउन थालेको प्रयास महत्वपूर्ण रहेको बताउनुभयो। प्रदेश सभा सदस्य उद्धव थापाले लोपोन्मुख संस्कारहरू पुनर्जागरण गर्दै जानु आवश्यक रहेको धारणा राख्नुभयो।
महानगर उपप्रमुख सुनिता डंगोलले स्वयम्भू क्षेत्रको सांस्कृतिक महत्व र पर्यटन प्रवर्धनमा महोत्सवले दिगो योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्थानीय उत्पादनको बजारीकरण, मौलिक खानाका प्रवर्धन र हस्तकलाका सामग्रीको महत्त्व वृद्धि गर्न महोत्सव प्रभावकारी हुने बताउनुभयो। नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख शुशिला अधिकारीले धार्मिक पर्यटन प्रवर्धनमा महोत्सव महत्वपूर्ण हुने विचार राख्नुभयो।
महोत्सव तयारीअन्तर्गत वडाका विभिन्न सडकहरू मर्मत गरिएको र ढुङ्गा छाप्ने काम सम्पन्न भएकाले वातावरण सुधारमा टेवा पुगेको जनाइएको छ। वडाका जनप्रतिनिधिहरूका अनुसार महोत्सवले स्थानीय महिला उद्यमीहरूको व्यवसाय प्रवर्धनमा सहयोग पुर्याएको छ।
महोत्सव सुरु हुनु अघि वडाका विभिन्न स्थानहरूको सांस्कृतिक झाँकीसहित परिक्रमा गरिएको थियो। यस क्रममा महानगर उपप्रमुख डंगोल, वडाका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। महोत्सवमा करिब ६० वटा स्टलहरू राखिएको छ। परम्परागत बाजा, जन्मदेखि मृत्युसम्मका संस्कारसँग सम्बन्धित चित्र, बुद्धको जीवनी, हुलाक टिकट र मुद्रा प्रदर्शनी महोत्सवका प्रमुख आकर्षण हुन्।
स्थानीय उत्पादन प्रदर्शनी, मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदान, रञ्जना लिपि लेखन तथा मुहार चित्रकारिता (फेस पेन्टिङ) लगायतका गतिविधिहरूसमेत महोत्सवमा समावेश गरिएका छन्। महोत्सव अवलोकन गर्न आउनेका लागि चमती र डल्लू आवास क्षेत्रमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ।
वडा नं. १५, ३१६.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। २०७८ को जनगणनाअनुसार यहाँ ५२ हजार ६६८ जनसंख्या रहेको छ। स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचानको रूपमा रहेको छ। प्राचीन मान्यताअनुसार महामञ्जुश्रीले उपत्यकाको जल निकास गरेपछि यहाँ बस्ती विकास भएको थियो। राजा प्रचण्डदेवले स्वयम्भू स्तूप निर्माण गरी यसको संरक्षण गर्नुभएको मान्यता रहेको छ।
स्वयम्भू क्षेत्रमा रहेका पुरातात्विक एवं धार्मिक सम्पदाहरूको संरक्षण तथा प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको हो। यसबाट वडाको पहिचानसँगै स्थानीय समुदायको समृद्धि हुने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे