
काठमाण्डौ। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत फेला परेकी थिइन्। उक्त घटनापछि न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले विरोध गर्दा विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको मिडिया र सामाजिक सञ्जालमा प्रकाशमा आएको छ।
विद्यार्थीहरूलाई रेलवे स्टेशन र बसपार्कमा छाडिएको जानकारीसमेत सार्वजनिक भएको छ। भारतस्थित नेपाली दूतावाससँग विद्यार्थीहरूले सहयोग मागे पनि तत्काल पहल नभएको गुनासो गरिएको छ।
यस घटनालाई लिएर नेपाली संसदमा आवाज उठाइएपछि सरकारले यसबारे गम्भीर चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार घटनाको सत्यतथ्य बुझ्न कुटनीतिक पहल भइरहेको र भारत सरकारसँग सम्पर्कमा रही आवश्यक सहयोगका लागि काम भइरहेको छ।
विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकारको पहल जारी रहेको र सम्बन्धित अधिकारीहरूसँग निरन्तर संवाद भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे