
काठमाडौँ , २९ माघ । धरहरा अवलोकनका लागि थप एक घण्टा समय बढाइएको छ। पुनर्निर्माणपश्चात गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनको समय माघ १५ गतेदेखि एक घण्टा थपिएको हो। अब, ३ः१५ बजेसम्म मात्रै टिकट काट्ने समयको सट्टा ४ः१५ बजेसम्म टिकट काट्न सकिनेछ र साँझ ५ बजेसम्म चढ्न पाइनेछ। आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले यसबारे जानकारी दिएका छन् ।
सञ्चालनको तीन महिनामा धरहरा प्रवेश शुल्कबाट रु १ करोड ५२ लाख राजस्व सङ्कलन भएको छ। माघ २४ गते बिहीबारसम्ममा उक्त रकम सङ्कलन भएको बताइएको छ। प्रत्येक बुधबार धरहरा बन्द रहने र अन्य दिनहरूमा दैनिक एक हजार दुई सय जनाले यहाँको अवलोकन गरेका छन्।
धरहरा चढ्नको शुल्क रु २०० तोकिएको छ, जबकि विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूसँग ५० प्रतिशत छुटको व्यवस्था छ। सार्क राष्ट्रका पर्यटकलाई रु ५०० र सार्कबाहेकका राष्ट्रका पर्यटकलाई रु १,००० शुल्क लाग्ने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे