
काठमाडौं । संघीय संसद अन्तर्गत चारवटा समितिको बैठक आज बस्दैछ। आज बिहान ११ बजे कानून, न्याय तथा मानवअधिकार समितिको बैठक हुनेछ। बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट आएका नीतिगत, व्यवहारगत र भन्सार प्रशासनसँग सम्बन्धित विषयहरूमा छलफल हुनेछ। यसमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आज बस्दैछ। उक्त बैठक सिंहदरबारमा दिउँसो साढे १२ बजे हुने छ। बैठकमा नेपालमा बाँदरको प्रकोप नियन्त्रण सम्बन्धी सरोकारवालासँग छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को दफा-वार छलफल हुनेछ।
अन्तिममा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज दिउँसो १ बजे हुनेछ। यसमा निर्वाचन आयोगले नेपालको निर्वाचन प्रणालीबारे आफ्नो धारणा प्रस्तुत गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे